
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ । सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सिमित भएको टिप्पणी गरे । उनले पुराना पार्टीहरुको आलोचना आएका नयाँहरुको व्यवहार पनि फरक नभएको टिप्पणी गरे । उनले रास्वपालाई लक्षित गर्दै घण्टि बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको उनको भनाइ छ ।
उनले भने, ‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन ? अहिले पनि सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसदमा होहल्ला भइरहेको छ । गणतन्त्र लोकतन्त्र विरोधीले त संसद बहिस्कार गर्नु स्वभाविक कुरा हो । पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं । अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी।
उनले व्यवस्थाको रक्षाका लागि सत्तासिन दलहरु दलीय र व्यक्तिगत स्वार्थबाट मुक्त हुन जरुरी रहेको बताए ।
प्रकाशित मिति: २९ असार २०८२, आईतवार