
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको आरोप लगाए । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए ।
उनले भने, ‘निकै ठूलो हुंकारसहित गठन भएको सरकार एक वर्ष पूरा गरेको छ । यस बीचमा संविधान संशोधनको चर्चा त हुनै छोडिसक्यो । सरकार आर्थिक विकास र यसको मोडलको बारेमा त सबै उदांगो भइसक्यो । अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको छ । जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको छ । सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको छ ।’
सांसद बस्नेतले सरकार विपद्को पूर्वतयारीप्रति बेखबर रहेको आरोप लगाए ।
प्रकाशित मिति: २९ असार २०८२, आईतवार