
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘सर्भर डाउन’ गराएर घुस डिल गरिहरेको विषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर कमिसन मागिरहेको विषय सार्वजनिक भएको भन्दै छानविन गर्न सरकारको ध्यानाकर्षण गराए । बिहीवार कम्पनी रजिष्ट्रारमा सिस्टम डाउन गराएर घुस डिल भइरहेको विषयमा केही अनलाइन समाचार माध्यमहरुबाट समाचार प्रकाशन गरिएका थिए । सांसद रिजालले कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भए युवाहरुले कसरी व्यवसाय गर्छन् ? भन्दै प्रश्न समेत गरे । उनले प्रधानमन्त्रीकै नेतृत्वको सुशासन आयोग गठन गरिएको भएपनि सिंहदरबारबाट एक किलो मिटर टाढा रहेको कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्मटम समेत डाउन भएको टिप्पणी गरे ।
उनले भने, ‘केही दिनदेखि कम्पनी रजिष्ट्रारको कार्यालमा भ्रष्टाचार भएको समचारहरु निरन्तर रुपमा आइरहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयबा दिइने सेवालाई प्रभावकारी बनाउन, अनलाईन सिस्टमको व्यवस्था गरिएको छ । सर्भर डाउनको बाहानामा अनलाईन सिस्टमलाई बन्द गराई नविकरण गर्दा र कम्पनी दर्ता गर्दा समेत प्रतिशत तोकेर कमिसन असुल्ने गरेको समाचार आइरहेको छ । कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भएपछि किन र कसरी व्यवसाय गर्छन् ? प्रधानमन्त्रीज्यूले आफ्नै नेतृत्वमा सुशासन आयोग बनाउनु भएको छ । तर सिंहदरबारदेखि एक किलोमिटरको दुरीमा रहेको कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमासर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ । म तुरुन्त छानविन र कारबाहीका लागि सम्माननीय अध्यक्षज्यूमार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदछु ।’
सांसद रिजालले घटनाबारे सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गरे ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार