
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताए । उनले समय समयमा बाटो बिग्रने अवस्थाका कारण दुरदराजका जिल्लाहरुमा समयमै कोटाअनुसार नुन पुर्याउन समस्या पर्ने गरेको बताए ।
उनले भने, ‘विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला तथ्यांकहरुले पनि अब हामीले नुनसम्बन्धी नीतिहरु परिवर्तन गर्नुपर्ने हो कि जस्ता संवेदनशील कुराहरु आएका छन् । यी सबै तथ्यांकहरुमा छलफल गरेर सरकारका लागि अब के आवश्यक हो त भन्ने कुराको एउटा योजना बनाउनुपर्छ । त्यसका लागि हामी गम्भिर भएर लाग्छौं भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छौं । अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । अहिले पनि नुनको मूल्यमा देशभर एकरुपता छैन । राज्यले सहुलियत दिएकै कारण काठमाडौंमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ । यो कुरालाई पनि बुझ्नुपर्छ । दुर्गम जिल्लाहरुमा नुन पुग्दासम्म लामो समय लाग्ने र बीचमा बाटो बिग्रिएको कारण कोटाअनुसार नुन पुर्याउन नसकिएको पनि सत्य हो । लामो समयसम्म बाटो बन्द हुँदा बाजुराका लागि लगिएको नुन अन्यत्र पठाउनुपर्ने पनि हुन्छ ।’
समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: २६ असार २०८२, बिहीबार