
काठमाडौँ। आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।
बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताएका हुन् । उनले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने बताए । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताए । उनले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताए । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो । हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ । बीउमा अनुदान दिन्छौँ । मलमा, भण्डारणमा अनुदान दिन्छौँ । बजार पनि आन्तरिक बनाएका छौँ । सपोर्ट पनि गरेका छौँ । अझै व्यवस्थित हुन सकेको छैन । कृषि जोखिमपूर्ण व्यवसाय पनि हो । अबको पाटो भनेको देशभित्र उत्पादन भयो तर त्यसलाई बजार दिनुपर्छ । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी छ । आन्तरिक प्रवद्र्धन गरेर मात्रै भएन, राष्ट्रिय सुरक्षा पनि हामीले दिनुपर्छ । अर्को वर्ष कृषिजन्य वस्तुको उत्पादनको मूल्य बढ्ने स्थिति छ । अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्नसक्छ ।’
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताए । उनले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गरे । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताए । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताए ।
उनले भने, ‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको छ । २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको छ । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको छ । १० लाख हेक्टरमा अहिले पनि सिंचाई छैन । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेका छौँ । सिंचाई भयो भने किसानले मलै नभएपनि खेती गर्दछन् । अनुत्पादन होला तर खती गर्दछन् ।’
सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गरे ।
प्रकाशित मिति: २६ असार २०८२, बिहीबार