Trending
>>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री >>   सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल >>   उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र >>   शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार प्रतिवद्धः प्रधानमन्त्री >>   १ हजार ३१७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न >>   मिसन ०८४ को नेतृत्व ओलीले नै गर्नुपर्छः एमाले नेताहरु >>   सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ >>   राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन… >>   वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

जनताको समस्या समाधानका लागि सहमति गरयौंः प्रमुख सचेतक पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताले भोग्नुपरेका समस्या समाधानका लागि माओवादीसहित एकीकृत समाजवादीलगायतका दलबीच सहमति भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसा भ्रष्टाचार, मानव तस्करीका विषयमा आवाज उठाउँदै आएको बताउँदै आफुहरुले राखेका विषय विश्वस्त हुनेगरी व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गरे । उनले आफुहरुको विरोध र आपत्ति कानूनी रुपमा भइरहेका भिजिट भिसाप्रति नभएको बताउँदै भिजिट भिसाका नाममा भइरहेका गैरकानूनी र मानवतस्करी सहितका भ्रष्टाचारजन्य हरकतविरुद्ध भएको स्पष्ट पारे । अहिले अध्यागमनसँगमात्र सम्बन्धित विषय नभइ भिजिट भिसामा देखिएका, देखिनसक्ने समग्र समस्याहरुको निराकरण गर्न र नीतिगत, कानूनी संरचनागतलगायतमा सुधारका लागि अध्ययन र छानविन गरी बद्मासी गर्नेलाई उचित कारबाही र आगामी दिनका लागि सुझाव दिनेगरी अध्ययनको लागि छानविनसमिति बनाउन उनले माग गरे ।

उनले भने, ‘हामी २०८२ जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिषा प्रकरणमा देखिएका वेथिति भ्रष्टाचार, मानवतस्करीसम्मका विषयमा सदनमा निरन्तर आवाज उठायौं, आन्दोलन ग¥यौं । आफ्नो रोजगारीको समस्याका कारण सम्मानजनक रोजगारीको उद्देश्य राखेर विदेश जाने नेपाली दाजुभाई, दिदीबहिनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायतका सरकारी कार्यालयहरुमा गैरकानुनी रुपमा मिलेमतो गरि भिजिट भिषामार्फत मानव तस्करी, बेचविखनजस्ता गम्भीर आपराधिक घटनाहरु सार्वजनिक हुँदा हाम्रो देशको अन्तर्राष्ट्रिय छवि, कानुनी शासन, मानवअधिकारका क्षेत्रमा गम्भीर असर परेको हामीलाई लागेको छ । भुटानी शरणार्थी प्रकरणले निहुरिएको देशको शीर पुनः यो भिजिट भिषा र अध्यागमन प्रकरणले थप झुकेको महशुस हामीले गरेका छौं । अध्यागमन र भिजिट भिषा प्रकरणमा संलग्न देखिएका सरकारी कर्मचारी, ट्राभल एजेन्सी, मेनपावर कम्पनी, एयरलाइन्स, संगठित अपराधमा संलग्न समूह र व्यक्तिहरु आदिबारे ठोस अध्ययन र छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कानुनी कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । हाम्रो विरोध आपत्ति कानुनी रुपमा भइरहेका भिजिट भिषाप्रति होइन । भिजिट भिषाका नाममा भएका गैरकानुनी लज्जास्पद र मानवतस्करीसहितका भ्रष्टाचारजन्य र राष्ट्रकै शीर निहुराउने गलत हरकतकाविरुद्ध हो भन्ने कुरा पनि हामी प्रष्ट पार्न चाहन्छौं । अख्तियारले केही कर्मचारीहरुलाई भिजिट भिषा प्रकरणमा सोधपुछ गरिरहेको विषयवस्तु पनि हामीले सुनेका छौं । अहिलेको विषय अध्यागमनसँग मात्र सम्बन्धित विषय होइन भिजिट भिषामा देखिएका देखिनसक्ने समग्र समस्याहरुको निराकरण हामीले गर्नुपर्नेछ । त्यसका लागि नीतिगत, कानुनी, संरचनागतलगायत कहाँ कहाँ कसरी सुधार गर्नसकिन्छ तिनको गहिरो अध्ययन र छानविन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिनेगरी, अध्ययनको लागि छानविन अध्ययन समिति बनाउन हामी जोडदार माग गर्दछौं । संविधानमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र बनाएका छौं । गणतन्त्र विरोधीहरुका प्रतिगामि र पश्चगमनकारी हरकतहरुका विरुद्ध हामी यो संविधानको रक्षा गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुबीच साझा मुद्दाहरुमा एकजुट भएर अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि हामीले जिम्मेवार प्रतिपक्षका हिसावले अगाडि बढ्ने अठोट लिएर जेठ १५ गते हामीले बजेट प्रस्तुतिकरणका लागि पनि सहयोग गरेका थियौं । त्यसरी नै हामीबीच विभिन्न समस्याहरुमा छलफल गर्ने विषय वस्तुहरुमा पनि हामीले सोचिरहेका छौं । यही आधारमा हामीले उठाएका अध्यागमन र भिजिट भिषाको समस्या राष्ट्र र आम जनताको समस्याको रुपमा आएको छ । यसलाई निराकरण गरेर अगाडि बढ्न अहिले हामीहरुको मूल कर्तव्य भएको छ । त्यसैले हामीले अध्ययन गर्न, छानविन समिति निर्माण गर्न र सँगसँगै यसको निराकरणका साथ जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न आवश्यक छ । हाम्रा समितिहरु बन्ने तर तीनका सुझावहरु व्यवहारमा लागु नहुने विगतका परम्पराहरुलाई पनि तोडेर अझै व्यवस्थित तरिकाले व्यवहारमै लागु गरेर जनताबाट विश्वास लिनु आवश्यक छ । यही कुरालाई मध्यनजर गरी हामीले यो जिम्मेवार प्रतिपक्षको हैसियतले आम जनताका समस्यापनि अगाडि बढुन् र सँगसँगै हाम्रा जनताले भोग्नुपरेका भिजिट भिषालगायतका भ्रष्टाचारजन्य, मानवतस्करीजन्य समस्याहरु छन् तीनका हल हुन् भनेर हामी हाम्रो दल सँगसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), आम जनता पार्टी, नेपाल समाजवादी पार्टीलगायतका विपक्षीहरुले सहमतिका साथ अगाडि बढ्ने कुरा गरेका छौं । हामीले राखेका यी विषयवस्तुहरुलाई अवश्य पनि नेपाल सरकारले हामीलाई विश्वस्त हुनेगरि व्यवहारमा पहिले सदनमा जवाफ दिनेछ र त्यसपछि व्यवहारमा पनि त्यहीअनुसार गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछौं । यही आधारमा अब हामीले यो सदनलाई सुचारु गरेर जनताका समग्र समस्याहरुलाई अगाडि बढाउनुपर्छ भनेर सहमति गरेका छौं ।’

उनले जनताका समस्यासँगै जनताले भोग्नुपरेका भिजिट भिषालगायतका भ्रष्टाचारजन्य समस्या हल गर्नका लागि माओवादी केन्द्रसँगै नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी, नेपाल समाजवादी पार्टीलगायतबीच सहमति भएको बताएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?