
काठमाडौँ। नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बनाउने प्रयास शुरु गरिएको छ ।
काठमाडौंमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका बेला भारतको राजधानी दिल्लीमा नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चले नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन प्रयास शुरु गरेको हो । आईतवार दिल्लीको प्रेस क्लव अफ इण्डियामा एक पत्रकार सम्मेलनको आयोजना गरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र पठाइएको जानकारी दिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई पठाइएको ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कुटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ ।
समारोहमा बोल्दै संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर ईन्जिनियर विष्णुप्रसाद बरालले गणतन्त्र आएको १७ वर्षमा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र बिना विकास सम्भव नभएको भन्ने पुष्टि भएको बताए । उनले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दवाब बनाउन शुरु गरेको र सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको बताएका छन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार