
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएक छन् ।
शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताए। उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अफ्ठ्यारो नलाग्ने बताए । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको बताएक छन् । आफू इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘आलोचनात्मक चेत भएका मानिसहरु, सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तिनीहरुले तपाईंले सही आर्टिकल लेखे पनि तपाईं पनि झोले हुनु भएछ भन्दिन्छ । किनभने तपाईंले सहीको विरोध गर्नु भएन नि । भ्रष्टाचारीको विरोधमा उफ्रिए पनि हुने । भ्रष्टाचारीको विरोधमा नारा लगाए पनि हुने । भ्रष्टाचारीका विरोधमा आन्दोलन गरे पनि हुने । ढुंगा मुढा गरे पनि हुने । फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लगाउन हुने । म त एउटा स्वतन्त्र मानव होइन, एउटा नागरिक सर्वोच्चता स्वीकार्ने मान्छे होइन म । प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियत नामा गर्न लाज नहुने । ति झोले नहुने । सबै मानिस स्वतन्त्र छन्, २५ सय वर्षअघि प्लेटोले बुझेको कुरा, भनेको कुरा आज आएर नबुझ्ने पनि फेरि झोला नबोक्ने स्वतन्त्र मानव भइ टोपल्ने त्यो भन्दा पराकाष्ठा के हुन्छ गुलामीको ? त्यसकारण यि गुलामी मनोवृत्तिका, दास मनोवृत्तिका मान्छेहरुका तथाकथित निष्पक्षताका, आलोचनात्मक चेतका यस्ता कुराहरुका कुनै भ्रममा नपरौँ । सही कुरालाई समर्थन गर्दा झोले । मलाई अलिकति पनि अफ्ठ्यारो लाग्दैन, म जनताका झोला बोकेर हिँड्ने मान्छे हुँ, जनताका हित, राष्ट्रका इज्जत, हितहरुको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरव, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ । के भयो त झोले हुँदा । मैले कुनै सामन्तको झोला बोकेको छैन । कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न कुदेको छैन । इतिहासलाई बाङ्गोटिङ्गो पारेर मर्काएको छैन । हो त्यस्तो झोला । इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरुलाई । म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यि झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरी हालेर बोक्छन् यिनीहरु । राम्रा कुरा बोकेर हिँडुन् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’
प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरुको चरित्र हत्या गरेर बुस्ट गरेका प्रतिक्रियाहरुको पछि नलाग्न आग्रह गरे । आफूलाई झोले भन्नेहरु देख्दा मानिस भएपनि मानव मेसिन भएको टिप्पणी गरे । ढुक्क भएर देशको अग्रगामी परिवर्तनको झण्डालाई माथि उठाएर हिँड्नआग्रह गरेका छन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार