Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी


हेटौँडा । मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् । यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् ।

यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ । राम्रो लाउने, मीठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि तीन वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहेकी छन् । उनलाई सानैदेखि नृत्यमा असाध्य रूचि थियो । तर १६ वर्र्ष नपुग्दै भागी विवाह गरेपछि उनको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो ।

निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो । रञ्जिता भन्छिन्, “विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रूचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि ।” विवाहको केही दिन त उनलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो । तर विद्यालय जान नपाउँदा भने अकास खसेजस्तो भएको उनले स्मरण गरिन् । रञ्जिताले भनिन्, “जब सासूआमाले भन्नुभयो, “अब तिमीले घर सम्हाल्नुपर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो ।”

उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने नलागेको बताउँदै भनिन्, “घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धी आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु ।” घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उनले स्मरण गरिन् । खेतबारी र वनजङ्गल उनको विद्यालय, अनि घरधन्दा र परिवारको हेरचाह उनको नृत्य कक्षा बनिसकेको थियो ।

विवाह गरेको केही महिनामा नै गर्भ बस्यो । गर्भवती भए पनि करिब डेढ घण्टाको बाटो ओरालो झरेर डोकोमा दुईवटा गाग्रीमा पानी ल्याउनैपर्ने उनको बाध्यता थियो । हाल गाउँमा पानीको व्यवस्था भए पनि दुई वर्र्ष अगाडिसम्म उक्त गाउँका सबै महिलाको बिहानी पानी बोकेर उकालो लागेसँगै सुरू हुन्थ्यो । डाँडामा घर अनि बेँसीमा पानीको मुहान, खेतबारीको काम र वनमा घाँसदाउरा यो नै रञ्जिताको दैनिकी बन्न पुग्यो । विस्तारै उनलाई अब पढाइ र सपनाका बारेमा भुल्ने बानी पर्न थालेको छ । आफूलाई अब आफ्नोभन्दा पनि पेटमा हुर्किरहेको बच्चाको चिन्ता लाग्न थालेको उनले बताइन् । बच्चा जन्मिएपछि केही समय आराम गरेर जीवन फेरि उही पुरानै दैनिकीमा फर्किएको उनले बताइन् ।

श्रीमान्को उमेर पनि रञ्जितासँगैको भएकाले उनको पनि कमाई नभएका कारण पैसाको समस्या हुन थालेको रञ्जिताले बताइन् ।

यतिबेला रञ्जिताको काखमा तीन वर्र्षको छोरा छ । उनी आफ्नो छोरा, सासूससुराको स्याहारसँगै खेतीपाती गर्न व्यस्त छन् भने उनका श्रीमान् दुबई गएका छन्, त्यो पनि गाउँमा रु पाँच लाख ऋण गरेर । श्रीमान् पनि अहिले २० वर्षका मात्र छन् । उनको काँधमा परिवार पाल्ने र ऋण तिर्नुपर्ने बाध्यता छ । सोह्र वर्षमा विवाह, १७ वर्षमा बच्चा र २० वर्षमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यताले उनलाई पनि समस्या भएको रञ्जिताको भनाइ छ ।

बिहानै उठेर घरधन्दा गरिसकेपछि वनमा घाँस काट्न जान्छन् । त्यसपछि अरूको खेतबारीमा पर्म गर्न गएर आफ्नो खेतालाको जोहो गर्ने जिम्मेवारी पनि रञ्जिताले पूरा गरिरहेकी छन् । रञ्जितामात्र होइन यहाँ सानै उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या निकै छ । सबैको दैनिकी पनि रञ्जिाको जस्तै छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?