Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र


२२ चैत ,नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रको काम भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा कालोपत्रको काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी कालोपत्र गरिएको जानकारी दिए। “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी क्षेत्रफलमा अक्सपाल्ट (कालोपत्र) गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उनले भने, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी धमाधम काम अगाडि बढाएका छौँ ।”

अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर बढी क्षेत्र कालोपत्रका लागि तयारी भइसकेको उनको भनाइ छ । सडक विस्तारका लागि दुई सय उपकरण सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजार बढी जनशक्ति तथा दुई सय बढी उपकरण प्रयोग गरिरहेको उनको भनाइ छ । “सडक विस्तारका लागि ८० टिपर, ३० वटा एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरण प्रयोग भइरहेका छन्”, उनले भने, “कम्पनीको आफ्नै दुईवटा कङ्क्रिट उत्पादन गर्ने प्लान्ट तथा एउटा अक्सपाल्ट (कालोपत्र गर्न आवश्य पर्ने अलकत्रासहितको सामग्री उत्पादन गर्ने) प्लान्ट निर्माण गरेका छौँ ।”

डण्डामा रहेको अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री आवश्यक तापक्रम मिलाएर कालोपत्र गर्ने ठाउँसम्म लगेर कालोपत्रको काम भइरहेको उनको भनाइ छ । उनले दुई लेयर कालोपत्र सँगसँगै गर्दै आएको बताए । “हामीले सुरुमा छ सेन्टिमिटर अक्सपाल्ट गरेका छौँ, त्यसको दुई दिनमै पुनः चार सेन्टिमिटर अक्सपाल्ट थप गर्दै कामलाई छोट्याएका छौँ”, उनले भने, “यसरी काम गर्न अप्ठ्यारो हुने भए पनि प्रगति देखिने भएकाले सँगसँगै दुई लेयर कालोपत्रको काम गरेका हौँ ।”

यस आर्थिक वर्षभित्र ५० प्रतिशत काम गर्ने लक्ष्य रहेको भए पनि वर्षातलगायतका कारण काममा असहज भए पनि ४५ प्रतिशत लक्ष्य भेट्टाउने ठेक्का व्यवस्थापक झाले बताए । सडकको प्रगति ३० प्रतिशत नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत पुगेको बताए ।

हाल सो सडकमा कल्भर्ट निर्माण, मेजर ब्रिज, माइनर ब्रिज, बिम, सुपस्ट्रक्चर (पुलको ढलान गर्नुअघिको काम) भइरहेको ढकालको भनाइ छ । “सडक विस्तारका क्रममा अहिले धमाधम काम भइरहेको छ”, ढकालले भने, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी निर्माण कम्पनीले काम गरेको छ ।” सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको ढकालले बताए । “अहिले भइरहेकै गतिमा काम अगाडि बढेको खण्डमा यस वर्ष ५० प्रतिशत काम हुने हामीले अनुमान गरेका छौँ”, उनले भने, “सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायतका कच्चा पदार्थको समस्या पनि छैन ।”

माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहहरूले आवश्यक सहयोग पुर्याइरहेका ढकालले बताए । सडक विस्तारका क्रममा अधिकांश ठाउँमा धुलो उड्ने गरेको भए पनि यस बर्खासम्म धेरै समस्या समाधान हुने उनको भनाइ छ । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त (सर्भिस लेन) दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो हुनेछ । दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा असहज भौगोलिक अवस्थाका कारण तीन लेनमा सडक विस्तार हुने गरी ठेक्का सम्झौता गरिएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?