Trending
>>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते >>   आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी गर्छन् खबराका किसान


१९ चैत्र, म्याग्दी । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो ।

सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक रू डेढ करोड आम्दानी गर्दै आएका छन् ।

खबराका किसानले केरा खेतीबाट वार्षिक रू एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक रू ५० लाखको हाराहारीमा केरा बिक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।

व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । ‘बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्’, उनले भने ।

खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन् ।

थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए ।

स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ’, बबिता सापकोटाले भनिन्, ‘पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।’

उनले १० वर्षदेखि केरा खेती गर्दै आएकी छन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भनिन्, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौं राखेर पढाउन पुगेको छ ।’

उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताइन् । भनिन्, ‘केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन रू एक सय २० मा बिक्री हुन्छ ।’

खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । ‘राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्’, उनले भने, ‘एक घारीको रू चार हजार दुईसयसम्ममा बिक्री गरेको छु ।’

बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए ।

उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन् । उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए ।

गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?