Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सामुदायिक विद्यालयमा अब्बल बन्दै रामतुलसी नमूना मावि


१८ चैत्र, पाल्पा । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रूपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।

रामतुलसी नमूना माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ ।

गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान सिक्लान् र भन्ने अभिभावकको संशयलाई अहिले रामतुलसीले बदल्दैछ । रामपुर नगरपालिकाको यो विद्यालय पाल्पा जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्नेमा पर्दछ । समायनुकूलको शिक्षा विद्यालयले दिन थालेपछि यस विद्यालयमा विद्यार्थी संख्या बढेको छ ।

संस्कारसहित हरियाली वातावरणमा खेल्दै सिक्दै गर्ने, पर्याप्त प्रविधि सहितको शिक्षाले अभिभावक तथा विद्यार्थीको ध्यान तानिएको छ । आधुनिकताको नाममा अहिलेका बालबालिकाले आफ्ना रहनसहन, संस्कार भुल्दै गएकाले संस्कार सहित समयानुकूल शिक्षा दिने गरिएको छ । विद्यालयमा पूर्व प्राथमिक ए, अंग्रेजी माध्यम बी र नेपाली माध्यम सी ग्रेड गरी पठनपाठन चलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । ‘आधुनिक प्रविधि, संस्कार सहितको खेल्दै रमाउँदै ज्ञान सीप सिक्ने वातावरण तयार पारेका छौं,’ प्रधानाध्यापक लम्सालले भने ।

पर्व, संस्कृतिको जानकारी दिन कृष्णाजन्माष्टमी, दशैंतिहार, फागुपूर्णिमा जस्ता विभिन्न चाडपर्वमा विद्यालयले तल्ला कक्षामा अध्ययन गर्ने बालबालिकालाई पर्व उत्सव कार्यक्रम गर्छ । रामपुरबाट गुणस्तर शिक्षालाई बाहिर सहरका विद्यालयमा पढाउन लैजाने प्रवृत्ति हटाउन मण्टेश्वरी शिक्षाको अवधारणा ल्याइएको छ ।

प्रधानाध्यापक लम्सालका अनुसार विद्यालयमा आगामी शैक्षिक सत्रमा संगीत, संस्कृति, खेलकुदजन्य शिक्षक व्यवस्थापन कक्षा चलाउने, अतिथि कक्ष, कम्तीमा ५० जनासम्म बसोबास गर्न मिल्ने होस्टेल राख्ने सोच छ ।

विद्यालयमा ३ वर्षयता पूर्व प्राथमिक शिक्षा शुरू गरेपछि संस्थागत स्कूलमा नै पढाउनुपर्छ भन्ने मानसिकता राखेका अभिभावकले विद्यालयमा आफ्ना बालबालिका पढाउन थालेका छन् । बालबालिकाले घरमा साथीभाइबीचको आत्मीयता, परिवारका सदस्यलाई गर्ने आदर सत्कारजस्ता कुराको ज्ञान आर्जन गरेको अभिभावक महेन्द्र श्रेष्ठले बताए ।

उनी भन्छन्, ‘हामीले खोजेजस्तो पढाइ रामतुलसीमा पाइएको छ, संस्थागतमा पढाउनुपर्छ भन्ने सोचाइ यस विद्यालयले बदलीदिएको छ, पर्याप्त खेलमैदान, प्रशस्त खेलकुदजन्य सामग्रीको प्रयोग, खेल्दै रमाउँदै पढ्ने वातावरण, बालबालिकाको राम्रो हेरचाहले यस विद्यालय सबैको रोजाइमा परेको छ ।’

स्कूलमा मण्टेश्वरी तालिम प्राप्त ८ शिक्षकले पढाउँछन् । किताबी मात्रै नभई व्यावहारिक ज्ञानबाट सिक्ने वातावरण तयार पारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।

‘हिजो बालबालिका विद्यालय आउन नमानेर घरमै अभिभावकलाई सताउने, रुने अवस्था थियो तर अहिले विद्यालयको शैक्षिक वातावरण फेरिँदै जाँदा विद्यालय आउन उत्साहित हुने गरेको पाइएको छ,’ उनले भने । उमेर समूहअनुसार फरक–फरक खालको शौचालय छ । साना कक्षाका बालबालिकालाई विद्यालयमै बनाएर खाजा खुवाउने व्यवस्था छ ।

चारैतिर व्यवस्थित पर्खालभित्र हरियाली रुख बिरुवा सहितको प्राकृतिक वातावरणमा बसेर शिक्षण गर्दा विद्यार्थीमा सिकिरहुँ, पढी राखौँजस्तो अवस्था विद्यालयले सिर्जना गरेको छ । यहाँ २ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । २ वटा स्कूल बस नियमित चल्छ । उच्च शिक्षातर्फ कृषिबाली, विज्ञान शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा पठनपाठन हुन्छ । ४ कक्षाकोठामा कम्प्युटर, विज्ञान प्रयोशाला र २ बैठक कक्ष छ ।

विक्रम संवत् २०२५ सालमा स्थापना भएको विद्यालय पार्टी, भवन, खुला चउर हुँदै अहिले पाल्पाकै नमूना विद्यालयको रूपमा विकास हुँदैछ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?