Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

काभ्रेमा सोह्र हजार छात्रालाई एचपीभी खोप लगाइने


काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यकीय खोप जिल्ललास्थित कार्यालयमा आइपुगेको छ । सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्याङ्कानुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ का तीन हजार ३३, कक्षा ८ का तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ । यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे व्यवस्थापन गरिसकिएको श्रेष्ठले बताइन् । उनका अनुसार विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकमा भने व्यवस्थापनका हिसाबले दुई चरणअन्तर्गत नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा दोस्रो चरणको अन्तिममा लगाइने भएको श्रष्ठले बताइन् । स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिने छभने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?