Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह


काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेका छन् ।

उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताएका छन् ।

किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताएका छन् ।

भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिएका छन् ।

दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराएका छन् । भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथाङ्का सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनले उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उनको भनाइ थियो ।

कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य गरिरहेको छ ।

खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशिक रुपमा यातायातका साधान सञ्चालनमा रहेका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?