Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च


काठमाडौँ । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताएका छन् ।

केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए । उनले भने , “गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।”

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाए । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताएका छन् ।

एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उनको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताएका छन् ।

ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पयाइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?