काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाुकाइने बताएका छन् ।
मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरु फुकाएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अफ्ठ्यारो भएका ठाउँहरुमा संविधान संशोधन हुने जिकिर गरे । नागरिकलाई सहज बनाउनका लागि कानून संशोधन हुने र विधेयक ल्याइने बताए । कानूनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौति भएपनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताए ।
उनले भने , ‘एउटा कुरा म विश्वस्त छु । मेरो कार्यकालमा संविधानमा जहाँ जहाँ कमी, कमजोरी देखिएको छ । जुनजुन कारणले जनतालाई न्याय दिन यो लोकातान्त्रिक व्यवस्थामा अफ्ठ्यारो छ । त्यहाँ त्यहाँ संविधान संशोधन हुन्छ । ऐन कानून संशोधन हुन्छ । विधेयक ल्याइन्छ ।’
मन्त्री चौरसियाले न्याय बिनाको लोकतन्त्र अधुरो रहने र अघि बढ्न नसक्ने बताए ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार