काठमाडौँ । जलवायु परिवर्तमा काम गर्दै आएका संघ,संस्थाका प्रतिनिधिहरुले विश्व जलवायु सम्मेलनहरुमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।
अजरबैजानको बाकुमा हालै सम्पन्न विश्व जलवायु सम्मेलन (कोप–२९)मा अपेक्षाकृत नेगोसिएशन बैठकहरु प्रभावकारी बन्न नसकेको बताएका हुन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको वुधवार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले कोप–२९ मा नेपालको सहभागिता र उपलब्धी औसत रहेको टिप्पणी गरे । बैठकमा जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले कोप—२९ का सबै नेगोसिएशन बैठकहरुमा नेपालको सहभागिता हुन नसकेको बताए । उनले विषयगत छलफलहरुमा नेगोसिएशनका लागि नेपालले दीर्घकालीन संयन्त्रसहितको दक्ष जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा अर्थपूर्ण सहभागिताको लागि विषयत क्षेत्रको नेतृत्व सुनिश्चितता गरी नेगोसिएशनलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
उनले भने , ‘भर्खरै सम्पन्न कोप–२९ बहु आयामिक छ । त्यसमा जलवागु परिवर्तनको असर न्युनिकरण गर्नको लागि भएका राम्रा अभ्यासहरुबारे पनि छलफल भएका हुन्छन् । त्यहाँ सबै क्षेत्रको प्रतिनिधित्व छ । त्यस सम्मेलनमा अर्थपूर्ण सहभागिताको लागि संख्या पुगेको थिएन । प्रत्येक नेगोसिएशन रुममा ३ जनाको उपस्थिति महत्वपूर्ण थियो । जस्तो मैले जलवायु वित्तलाई फलो गरिरहेको थिएँ । त्यसको नेतृत्व नेपालको तर्फबाट अर्थ मन्त्रालले गरिरहेको अवस्था थियो । जलवायु वित्तको नेतृत्व सधैँ अर्थ मन्त्रालको नेतृत्वमै हुनुपर्ने हो । तर त्यस्तो देखिँदैन । कुन नेगोसिएशनमा कसले नेतृत्व गर्ने भनेर त्यो आधारमा अभ्यस्त भएर गएको भए अझै प्रभावकारी सहभागिता हुन्थ्यो । सबैले हाम्रो देशले भोगिरहेका समस्या र समाधानका उपायहरु दिने र कुनकुन पोइन्टमा केके कुरा ल्याउने भन्ने कुरामा अन्य देशको हेर्ने हो भने अर्गनाइज भएको देखिन्छ । हामी सुधार गर्नुपर्ने मुख्य पाटोको रुपमा मैले देखेको छु । प्रत्येक नेगोसिएशन रुममा अर्गनाइज हुने कुराहरुमा र प्रस्तावहरु राख्ने कुरामा सुधार गर्न आवश्यक देखियो । यसमा काम गर्नुपर्नेछ ।’
उनले कोपमा लिएको लक्ष्यअनुसार पैसा परिचालन भएको अवस्थामा त्यसको खर्च गर्ने क्षमता विकास गर्न नेपालले गृहकार्य थाल्नुपर्नेबताए ।
छलफलमा सहभागि हुँदै जलवायु परिवर्तन विज्ञ दीपक केसीले कोपको विषयगत क्षेत्रमा काम गरिरहेको मान्छेलाई कम्तिमा दुई वर्ष सोही क्षेत्रमा काम गर्न दिनुपर्ने बताए । उनले जलवायु क्षेत्रमा काम गर्न लामो समयदेखि गृहकार्य गर्दै राष्ट्रिय संरचना तयार गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले नेगोसिएशनमै प्रभावकारी उपस्थिति बनाउन सक्नुपर्छ । म भोलि सहभागि हुँदैछु, यो यो विषयमा कुराकानी गर्छु भन्नेकुरा नै होइन । त्यसैले बोनको नेगोसिएशनमा भएको ट्याक्सको पुनरावलोकनगरेदेखिको हाम्रो टिम तयार गर्नुपर्यो । लाइट माइण्डेड ग्रुपहरुसँग एलडिसी होस् कि एलएमडिसी होस् । उनीहरुसँग हाम्रो पोजिसन यस्तो छ, हामीले यस्तो प्रश्तुती दिने हो भनेर तयारी हुनुप¥यो । सात वटा थिममा कुरा भइरहेको थियो भने कम्तिमा सात जना ग्रुप लिडरलाई कम्तिमा दुई वर्ष सोही थिममा काम गर्न दिनुप¥यो । अन्य सहायक काम उहाँको हो नि ।’
उनले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे जानकारी दिँदै जलवायु कार्य गर्नको लागि आवश्यक वित्त सहायताको लागि निरन्तर समन्वय गर्नुपर्ने बताए । छलफलका क्रममा उपसमितिका संयोजक डाक्टर अञ्जान शाक्यले नेपालले आफू कार्बन उत्सर्जन कम मात्र गर्ने भएपनि धनी मुलुकहरुले उत्सर्जन गर्ने कार्बनडाईअक्साइडको असरको भागेदार नेपाल हुनुपरेको कुरा कोपमा उठाउन सफल भएको बताए । उनले जलवायु परिवर्तनको कारण नेपालका हिमालहरु छिटोछिटो पग्लिने गरेको कुरा जोडतोडका साथ उठाउनुपर्नेमा केही हदसम्म सफल भएको बताएका छन् । नेपाल एन्सीक्युजीमा आवश्यक प्रभाव राख्न चुकेकोउनको भनाइ छ । उनले कोप–२९ ले राखेको लक्ष्यअनुसार वित्त परिचालन भएको अवस्थामा नेपालले खर्च गर्नसक्ने क्षमताको विकास गर्नुपर्ने बताए ।
शाक्यले भने , ‘जलवायु परिवर्तनका कारण भएको हानी र प्रभावका कुराहरु राखेर नै जलवायु वित्त प्राप्त गर्ने हो । जलवायु कार्यका लागि जलवायु वित्तको नयाँ लक्ष्य १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर हुन्छ कि भन्ने आशा थियो तर ३ सय बिलियन अमेरिकी डलरमा सिमित हुन पुग्यो । जलवायु वित्त प्राप्त गर्ने विषय नेपालको तयारीमा भर पर्छ । यसकारण हामीले एन्सीक्युजीमा बढी ध्यान दिनुपर्दछ । नेपालले विकासोन्मुख मुलुकहरुको समूहसँगको संयोजनकारी भुमिकामा अलि चुकेको हो कि जस्तो बुझिएको छ ।’
कोप–२९ मा भएका सम्झौताहरु कार्यान्वयन गर्नसके नेपालले धेरै लाभ उठाउनसक्ने भएकाले यसका लागि सबै क्षेत्रमा बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार