काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् । उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताए । पार्टीले उपनिर्वाचनको प्रारम्भिक समिक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भिर समिक्षामा लागेको बताए । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताए ।
उनले भने , ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रुपमा अगामी दिनहरुको लागि समिक्षा र विश्लेषण गर्ने रुपले महत्वपूर्ण छ । नेपाली काँग्रेसले हरेक चुनावलाई महत्वका साथ लिन्छ । कुनैपनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनैपनि चुनावलाई खेलाँचीको रुपमा लिँदैन । पार्टीले उपनिर्वाचको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौं । पार्टीका सबै साथीहरु सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्राम्भिक समिक्षा धारण पनि प्रश्तुत गरिरहेका छौं । प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धी हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरि गुम्यो ? भन्नेकुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ । अहिले प्रारम्भिक रुपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा हामीले बुझेका छौं । नेपाली काँग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समिक्षा गर्दैछ । के उपलब्धि भयो ? त्यसलाई पनि विश्लेषण गर्दैछ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रुपमा लिएका छौं । सकारात्मक रुपमा लिएका छौं । यदी गणितीय हिसावमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली काँग्रेसले तत्कालिन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समिकरण र अहिलेको परिस्थिति, मनस्थिति र समिकरणलाई हेर्ने हो भने गुणात्मक रुपले यो महत्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौं, कँही नेकपा एकीकृत समाजवादीसँग हाम्रो समिकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरिकन प्राप्त भएको १९ सिट विशेष रुपले महत्वपूर्ण छ ।’
महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रश्ताव पारित गरेको भएपनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताए ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार