काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिक विचको पहिलो सम्पर्क सुत्राका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताएका छन् ।
६९औं प्रहरी दिवसको अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका छन् । साथै उनले प्रहरी दिवस २०८१ स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरेका छन् ।
समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री लेखकले राष्ट्रको आन्तरिक शान्ति सुरक्षा, कानूनको कार्यान्वयन, मानव अधिकारको संरक्षण र प्रवर्द्धन, अपराध नियन्त्रण र अनुसन्धान, विपत्ति र प्रकोपमा खोज/उद्दार, सवारी व्यवस्थापन देखि अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताएका छन् ।
राज्यको तर्फबाट नेपाल प्रहरी नागरिक समक्ष पहिलो पुग्ने संवाहक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘अन्यायमा परेका जो कोहीलाई न्याय दिलाउने र कसूरदारलाई दण्ड दिने राज्यको पहिलो प्रतिनिधि नेपाल प्रहरी हो । मानव अधिकारको संरक्षक र पालक पनि हो । यति धेरै जिम्मेवारी र दायित्व सायद अरू कुनै संगठनमा छैन् । ती भूमिका र कर्तव्य पालना गर्दा निश्चित रूपमा आन्तरिक र बाह्य रूपमा केही चुनौति र कठिनाई छन् । साधन स्रोतका सीमाहरू पनि छन् । यदा कदा इमानदारी पूर्वक जिम्मेवारी पालना गर्दै गर्दा पनि आलोचन र अपेक्षाका भारी पनि हामीले बोक्नुपरेको छ र ती अवरोह छिचोल्दै आफ्नो कर्तव्यमा अविचलित रहने सामर्थ भएको संगठन नेपाल प्रहरी हो । यो क्षमता संगठनको अलौकिक विशेषता पनि हो । जुन सुकै कठिन घडिमा पनि निष्ठावान रही कर्तव्यपरायण रहने नेपाल प्रहरीको अत्यन्त मौलिक चरित्र हो ।’
गृहमन्त्री लेखकले प्रहरीको विकल्प भनेको व्यवसायिक, निष्ठावान् प्रहरी संगठन नै भएको चर्चा गर्दै समाजको विकास र गतिशिलतासँगै प्रहरी संगठनको गतिशिलता हुनुपर्ने बताउदै समाज जसरी परिवर्तनशील र गतिशिल एवम् विकासोन्मुख छ प्रहरीको व्यावसायिकता एवम् सेवाको क्षेत्रलाई पनि तदनुरूप नै विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिको लागि सदैव सहयोगी रहने तथा संगठनले शुरू गरेका हरेक रचानात्मक योजना तथा कार्यहरूलाई पूर्णता दिन सदैव प्रतिवद्ध रहेको र महिला तथा बालबालिका उपर हुने हिंसा, कसूर जन्य कार्य, भेदभाव, छुवाछुत लगायत कुनै पनि आपराधिक कर्म र सञ्जाल प्रति कुनै आग्रह पूर्वाग्रह र मलैजा नगरी शून्य सहनशीलताको नीति अनुरूप कानूनको दायरामा ल्याउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आगामी दिनमा सबै प्रहरी कर्मचारीहरू थप सचेत एवम् इमानदारी भई आफ्नो क्षमता र व्यवसायिकताको प्रदर्शन गर्दै कार्य गर्न आग्रह गर्दै उनले कानून विपरित भए गरेका कार्यहरूलाई निर्भिकता पूर्वक कानूनको दायरामा ल्याउन नेपाल प्रहरीले निर्वाह गरेको व्यावसायिक क्षमता र निष्ठाको उच्च प्रशंसा गरेका छन्।
प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलवार