
काठमाडौं । आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ । आज पितृहरुलाई सम्झने दिन भएकाले कुश किन्न आएको र पशुपति दर्शन गर्न आएको किशोर पन्तले बताएका छन् । आजको दिन उखेलेको कुश वर्षभर उपयोग गर्न मिल्ने भएकाले किन्न आएको बताए ।
त्यस्तै कुश बेच्नका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर ८ बाट आउनुभएका लिलानाथ चौलागाईंले जन्मदेखि मृत्युसम्म प्रयोग गर्न मिल्ने कुशको महत्व धेरै रहेको बताए । उनले आजको दिन कुश हुनेले उखेलेर नहुनेलाई बेच्ने र नभएकाले किन्ने परम्परा रहेको बताए । त्यस्तै पशुपति क्षेत्रमा पुग्नुभएका एक पुरोहितले कुशे औंशीको देवकार्य र पितृकार्यमा धेरै महत्व रहेको उल्लेख गरेका छन् ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँशीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार