Trending
>>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक


काठमाडौँ।देशका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा आधाभन्दा बढी औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा मंगलवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक शम्भु साहले यस्तो बताएका हुन् । उनकाअनुसार विभागले विराटनगर, नेपालगञ्ज र वीरगन्जलगायतका स्थानमा ७५ वटा औषधि पसलको अनुगमन गर्दा आधाभन्दा बढीले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै एन्टिबायोटिक बिक्री गरेको पाइएको बताएका छन् । बिरामी हुँदा प्रयोग गरिने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले यसको प्रभावकारिता घट्नुका साथै जनस्वास्थ्य जोखिम बढ्दै गएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् । उनकाअनुसार अनुगमनका क्रममा नियमविपरीत एन्टिबायोटिक विक्री गर्ने औषधि पसललाई सचेत गराइएको छ । सचेत गराउँदा समेत नियमविपरित एन्टिबायोटिक औषधि विक्री गरेमा जरिवानासहित कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । औषधि व्यवस्थापक साहले औषधि ऐन संशोधनका क्रममा बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक विक्री गर्नेलाई जरिवाना गर्ने व्यवस्था प्रश्ताव गरिएको समेत बताएका छन् । एन्टिबायोटिकको अनियन्त्रित विक्री नियन्त्रण गर्न कानूनी व्यवस्थामा नै कडाइ गर्नुपर्नेमा उनको जोड छ । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि साताव्यापी सचेतना कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी त्यसको प्रभावकारिता आगामी वर्षहरूमा मापन गर्नुपर्ने बताए । उनले नेपालमा निगरानी सूचीमा रहेका एन्टिबायोटिकको खपत घटे–नघटेको, कृषि तथा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको प्रयोग नियन्त्रण भए–नभएको, खाद्य पदार्थमा औषधिको अवशेष परीक्षण, अस्पतालमा परामर्श सेवा, संक्रमण नियन्त्रण तथा प्रयोगशालाको क्षमता विस्तारजस्ता विषयलाई आगामी दिनमा मूल्याङ्कनको आधार बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘बजारमा एन्टीबायोटिक प्रिस्क्राइब गरिरहेको औषधि पसलहरू छन् भने एकचोटि नियमन पनि गर्नुपर्छ भनेर हाम्रो टोली विराटनगर, नेपालगन्ज, वीरगञ्ज गएर ७५ वटा औषधि पसलको अनुगमन गर्यौँ । ७५ वटा औषधि पसलको हामीले अनुगमन गर्दाखेरि लगभग आधाभन्दा बढी नै मौखिक रूपमा एन्टीबायोटिक बिक्रीवितरण गरेको पाइयो । उहाँहरूलाई कतिपय ठाउँमा हामीले यसपालि सचेत गराएका छौँ । यो साप्ताहिक अभियान एउटा अवेयरनेस र सचेतना फैलाउने कार्यक्रम पनि भएको कारणले हामीले सेन्सिटाइज नै गर्दै छौँ । आगामी दिनमा त्यसलाई कारबाहीको दायरामा लैजाने, जरिवानाको व्यवस्था गर्ने लगायतका कुराहरू पनि हामीले हाम्रो कार्यक्रममा राखेका छौँ र मन्त्रालयमा पनि यसपालिको औषधि ऐन संशोधनको लागि हामीले पठाउँदाखेरि जरिवानाको व्यवस्था गर्ने भनेर प्रश्ताव राखेका छौँ ।’

नेपाल औषधि आयातकर्ता संघका उपाध्यक्ष पृथ्वीराज वैद्यले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपालन, कुखुरापालन, कृषि, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएको समस्या भएको बताएका छन् । उनले एएमआर नियन्त्रणका लागि ‘वान हेल्थ’ अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पशु तथा कृषि क्षेत्रमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोगसमेत नियमन गर्नुपर्ने बताएका छन् । वैद्यले औषधि आयातकर्ता तथा वितरकले गुणस्तरीय औषधिको आयात, सुरक्षित भण्डारण र जिम्मेवार वितरण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै चिकित्सकको प्रेस्क्रिप्सन र प्रचलित कानूनअनुसार मात्र एन्टिबायोटिक बिक्रीवितरण गर्ने अभ्यासलाई सुदृढ बनाउन संघ प्रतिबद्ध रहेको बताएका छन् । एएमआर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘एएमआर मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र वातावरणसँग प्रत्यक्ष जोडिएको एउटा गम्भीर राष्ट्रिय तथा विश्वव्यापी चुनौती हो । त्यसैले यसमा हामीले एक स्वास्थ्य अवधारणा व्यवहारमा लागू गर्न गर्न आवश्यक छ । जस्तै एएमआर नियन्त्रण मानव स्वास्थ्यमा मात्र सीमित हुनुहुँदैन । यसको लागि अस्पताल, चिकित्सक, औषधि पसल र एन्टी बायोटिकको प्रयोगलाई मात्र केन्द्रमा राख्ने गरेका छौँ । तर यो दृष्टिकोण पर्याप्त छैन । मानिसले जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा धेरै नै समस्या हुने गरेको छ ।’

छलफलमा सहभागिहरुले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक विक्री गर्न नदिन कानूनमार्फत नै कडाइ गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?