Trending
>>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली


काठमाडौं । पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् ।

चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्ष यात्रा गर्ने तयारी गरेका हुन् । चिनियाँ समकक्षीहरूसँग महिनौँसम्मको कठिन प्रशिक्षण पूरा गरेपछि अली ऐतिहासिक अन्तरिक्ष यात्राका लागि तयार भएका छन् । उनले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन् । ‘म आफ्ना लागि मात्र अन्तरिक्षमा उडिरहेको छैन । मेरो काँधमा पाकिस्तानको नाम र पहिचान छ,’ अलीले भनेका छन् ।

सन् २०२६ मा चीन र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । यही अवसरमा चिनियाँ अन्तरिक्ष यात्रीहरूसँग मिलेर अन्तरिक्षमा पुग्नुले दुई देशबीचको मित्रता कागजमा मात्र नभई अन्तरिक्षमा समेत वास्तविक रहेको देखाउने अलीको भनाइ छ । चीन र पाकिस्तानले सन् २०२५ फेब्रुअरीमा चिनियाँ अन्तरिक्ष केन्द्रमा हुने मिसनका लागि पाकिस्तानी अन्तरिक्ष यात्री छनोट तथा प्रशिक्षण गर्ने सम्झौता गरेका थिए । त्यसपछि यसै वर्ष अप्रिलमा अली र अर्का एक पाकिस्तानी अन्तरिक्ष यात्री प्रशिक्षणका लागि चीन पुगेका थिए । चीनमा उनीहरूले आधारभूत अन्तरिक्ष प्रशिक्षण, एयरोस्पेस प्रविधिसम्बन्धी तालिम तथा चिनियाँ भाषाको विशेष प्रशिक्षण लिएका थिए । मिसनका क्रममा प्रयोग हुने निर्देशन र प्राविधिक शब्दावलीसमेत सिकाइएको थियो । अलीका अनुसार चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै नियमित उडान प्रक्रिया र आपत्कालीन अवस्थाका अभ्यास पटकपटक गरिएको थियो । निरन्तरको अभ्यासले ती प्रक्रिया स्वाभाविक प्रतिक्रियाजस्तै बनेको उनले बताएका छन् । अन्तरिक्षमा पुगेपछि अलीले टोलीका अन्य सदस्यसँगै नियमित कार्य गर्नुका साथै चीन–पाकिस्तान संयुक्त अन्तरिक्ष विज्ञानसम्बन्धी प्रयोगमा ध्यान केन्द्रित गर्नेछन् ।

केही समय अन्तरिक्षमा बिताएपछि उनी ‘शेन्झाउ–२३’ अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम रहेको छ । अन्तरिक्षबाट आफ्नो देश पाकिस्तान र जन्मथलो हेर्न पाउनु आफ्ना लागि ठूलो सम्मान हुने अलीले बताएका छन् । अन्तरिक्ष अन्वेषण मानवजातिको हित, शान्तिपूर्ण उपयोग र पृथ्वीमा सर्वसाधारणको जीवनस्तर सुधारका लागि हुनुपर्ने उनको धारणा छ । चीनको अन्तरिक्ष केन्द्रमा पाकिस्तानी अन्तरिक्ष यात्रीको सहभागितालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले आफ्नो अन्तरिक्ष कार्यक्रमका उपलब्धि अन्तर्राष्ट्रिय समुदायसँग साझा गर्ने चीनको प्रयासलाई समेत प्रतिबिम्बित गरेको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?