Trending
>>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल कार्तिक १७ गते शनिबार, हेर्नुहोस आजको राशिफल >>   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु >>   गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन >>   कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही >>   लक्ष्मीपूजामा स्वदेशी माग धानेर २५३ मेगावाट विजुली भारत निर्यात >>   इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र >>   नागढुंगा सहकारीको पाँच करोड हिनामिना >>   १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू >>   नेपालले द्वारा इङ्ल्याण्ड छ विकेटले पराजित
Logo
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

सुविधा थप्दै जिपी कोइराला उपचार केन्द्र


११ चैत्र, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए ।

अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुवात गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो । हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले बताए । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा.शैलेश गुरुङलाई नियुक्त गरिएको छ ।

“अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ”, डा श्रेष्ठले भने । श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ । उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । “भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण विस्तारै थप्दै जाने नीति छ”, श्रेष्ठले भने ।

अस्पतालमा दैनिक दुई सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ ।

केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ ।

केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा.विद्याभुषण ताम्राकार, सर्जन डा.परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा.रमेश घिमिरे, डा.अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएका छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ । अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।

पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?