Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो


१० चैत्र, पोखरा। फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौँ, अब समस्या समाधान हुन्छ ।”

उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार अहिले पुराना डुङ्गा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुङ्गा चालक र डुङ्गाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुङ्गा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।

उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा सङ्गठनले काम गरेको पनि उनको भनाइ छ ।

स्थानीय डुङ्गा चालक एवम् सङ्गठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुङ्गा सञ्चालित छन् । आठ घाटबाट सञ्चालित डुङ्गामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुङ्गा मन्दिर पुग्ने गर्दछन् ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए। व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताए । उक्त मुख्य स्थानमा सरसफाइका लागि दुईजना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उनको भनाइ छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?