Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित


१० चैत्र, काठमाडाैँ । नेपालसहित विश्वभर शुक्रवार विश्व क्षयरोग दिवस मनाइँदैछ ।

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

नेपालमा बर्सेनि नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए ।

नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव ५ प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८ दशमलव ४ प्रतिशत महिला र ८ दशमलव ७ प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।

केन्द्रका निर्देशक डा. शाहले वार्षिक करीब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रूपमा रहेको छ,’ उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करीब २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी १ करोड ६ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करीब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।

नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, ७ वटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत छन् ।

केन्द्रका निर्देशक डा. शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए । आव २०७८/७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालू आवमा १०० स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी ४ वर्षभित्र ७५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, ५ हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र र ८१ डीआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?