Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

आज विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित


१० चैत्र, काठमाडाैँ । नेपालसहित विश्वभर शुक्रवार विश्व क्षयरोग दिवस मनाइँदैछ ।

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

नेपालमा बर्सेनि नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए ।

नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव ५ प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८ दशमलव ४ प्रतिशत महिला र ८ दशमलव ७ प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।

केन्द्रका निर्देशक डा. शाहले वार्षिक करीब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रूपमा रहेको छ,’ उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करीब २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी १ करोड ६ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करीब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।

नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, ७ वटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत छन् ।

केन्द्रका निर्देशक डा. शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए । आव २०७८/७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालू आवमा १०० स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी ४ वर्षभित्र ७५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, ५ हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र र ८१ डीआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?