रूपन्देही । बुटवलस्थित उजिरसिंह माविबाट वि.स. २०४५/०४६ मा एसएलसी दिएका ७० जना विद्यार्थीमध्ये ३० जना अहिले पनि निरन्तर सम्पर्कमा छन् । उनीहरूले पूर्वविद्यार्थी सञ्जाल नै गठन गरेका छन् । पूर्वविद्यार्थी सञ्जालको संयोजक लंक बस्नेत छन् । त्यो बेला एसएलसीमा सहभागी पूर्वविद्यार्थीहरू ‘म्यासेन्जर ग्रुप’मा पनि जोडिएका छन् । उनीहरूले विगत ८/१० वर्षदेखि वर्षमा एक/दुई दिन भेला भएर जमघट र ‘गेट टुगेदर’ गर्दै आएका छन् ।
बुधबार पनि उनीहरू जम्मा हुने कार्यक्रम बन्यो । उनीहरूबीच सोही ब्याचका साथी योग गुरुङको बुटवल उपमहानगरपालिका–१३ बेलबासको बदेलपोखरीस्थित ग्वातो रेष्टुरेन्टमा दिउँसो साढे ३ बजे भेट्ने योजना बन्यो ।
दिउँसो साढे ३ बजे भेला भएका उनीहरू साँझ साढे ६ बजेसम्म बसे । रमाइलो गरे । साँझ परेपछि २५ जना फर्केर आ–आफ्नो घरतिर लागे । साथीहरूको भेलामा सहभागी विमलराज भट्टराईका अनुसार छुटिने बेलामा रामप्रसाद शर्मा (छवि)ले सेल्फी खिच्दै भने, ‘कोही नछुटौं हैं, यो भोलि मिडियामा आउने फोटो हो ।’
छविसहित पाँच जना साथी जमघट भएको रेष्टुरेन्ट माथिको भ्यू टावर टावर हुँदै पाल्पाको नुवाकोटतर्फ जाने भन्ने सल्लाह भयो । भेलामा सहभागी आशा श्रेष्ठले लगेको गाडी भतिजले लगेपछि उनी पनि छविकै गाडीमा एकछिन नुवाकोट घुमेर फर्किने भनेर लागिन् । छवि आफ्नो लु २ च ८५३१ नम्बरको कारमा आशा श्रेष्ठ, भगवती श्रेष्ठ, रश्मी श्रेष्ठ र चन्दा श्रेष्ठलाई लिएर नुवाकोटतर्फ लागे । नुवाकोटको बीचमा पर्ने भ्यू टावरमा फोटो खिचेर उनीहरू नुवाकोट डाँडामा पुगेँ ।
जहाँबाट बुटवलको भ्यू हेर्न सकिन्छ । बुटवलबाट नुवाकोट जाने अहिले बनेको सिद्धार्थ केबलकार सञ्चालनको तयारीमा छ । बुटवलको गर्मी छल्न त्यहाँ मानिसहरू धेरै पुग्ने गर्छन् । त्यहाँ केही समय बिताएपछि उनीहरू साढे ८ बजेतिर फर्किए ।
फर्किंदै गर्दा ओरालो बाटोमा छविले चलाएको गाडी दुर्घटना भयो । गाडी सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ‘गेट टुगेदर’मा सहभागी भट्टराई सम्झन्छन्, ‘फर्किंदै गर्दा गाडी सडकबाट खसेर नसोचेको घटना भएछ । हामी विगत १० वर्षदेखि यसैगरी ‘ग्यादरिङ’ गर्दै आएका थियौं । भेटघाटपछि हामी फर्कियौं । उहाँहरू माथि घुमेर फर्किंदा वीभत्स घटना भएछ ।’
आशाले जानुअघि ‘मेरो गाडी पुरानो छ, एजाज आलमको गाडीमा माथि पुगेर आउनुपर्छ,’ भनेकी थिइन् । तर, एजाज भैरहवामा ‘मिटिङ’ छ भनेर निस्किए । आलम सम्झन्छन्, ‘आशाले मेरो गाडीमा माथि जाने भन्नुभएको थियो । कामले म चाँडो भैरहवा निस्किएपछि दुर्घटना भएछ । छविजीले अन्तिम सेल्फी हो हैं भन्नुभएको थियो । नभन्दै अन्तिम नैं हुन पुग्यो । दुर्घटनापछि भीरबाट निकाल्न ढिलाइ हुँदा पनि छविजीको मृत्यु भएको हुनसक्छ ।’
नुवाकोट जाने बाटो ठाडो उकालो छ । फर्किंदा गाडी नियन्त्रण गर्न गाह्रो हुने गरेको त्यहाँ पुग्नेहरू बताउँछन् । सावधानी र ट्राफिक संकेत पनि त्यहाँ छैन । त्यो चुरे भीरको बाटो हो । नुवाकोट प्रवेश गर्ने विन्दुमा चेक पोइन्ट आवश्यक रहेको त्यहाँ पटक–पटक गइरहने अमृत गिरीले बताए ।
बुटवल उपमहानरका–१० का ५६ वर्षीय छवि बुटवलका सफल व्यवस्थापक मानिन्थे । लामो समय करेन्ट चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए । विभिन्न सामाजिक र व्यावसायिक संस्थामा सक्रिय शर्मा उद्योगबाट उत्पादित उत्पादनको बजारीकरणमा अब्बल व्यवस्थापक मानिन्थे ।
दुर्घटनामा मृत्यु हुने तिलोत्तमा नगरपालिका–३ की ५७ वर्षीया आशा र सोही ठाउँकी ५० वर्षीया भगवती हुन् । दुर्घटनामा रस्मी र चन्दा घाइते भएका छन् । उनीहरूको भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ ।
घाइते चन्दा बुटवल–९ र लक्ष्मीता श्रेष्ठ बुटवल–११ का हुन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले ओरालोमा गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने बताए । घटनाको अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार