Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन


कायरो,इजिप्ट। नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।

त्यस्तै, गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा.ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिएका शिक्षाविद् कोर्टनी बेलीले वर्णन गरेका थिए । सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको अनुपम सांस्कृतिक र प्राकृतिक सम्पदाबारे संक्षिप्त चर्चा गरेका थिए। साथै उनले इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारे प्रकाश पार्दै दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारका लागि इजिप्सियन मिडियाको सहयोगका लागि धन्यवाद प्रकट गरे ।

उक्त कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, विदेशी कूटनीतिज्ञ, एयरलाइन्स, टिभी च्यानल एवं पत्रपत्रिकाका प्रतिनिधिका आदि गरी करिब ७० जना व्यक्तिको सहभागिता रहेको थियो भने सो कार्यक्रममा फेब्रुअरी २७ र २८ तारिखका दिन आयोजित इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्बिर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । इजिप्टको बाल संस्कृति केन्द्रको सहआयोजनामा आयोजित सो प्रतियोगितामा तीन सयभन्दा बढी इजिप्सियन विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्बिर उतारेका थिए । त्यस्तै, फेब्रुअरी २७ का दिन चित्रकला प्रतियोगिताका अवसरमा राष्ट्रिय बाल संस्कृति केन्द्रका प्रमुख तथा सुप्रसिद्ध बाल साहित्यकार मुहम्मद नासेफले कार्यक्रमले दुवै देशबीचको जनस्तरको सम्बन्ध थप प्रवर्द्धन गर्न मद्दत पुग्ने धारणा प्रकट गरे। उनले इजिप्टका संस्कृतिमन्त्री महामहिम नेभिन एलकिलानीले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना पठाएको उल्लेख गर्दै कार्यक्रमले इजिप्टका बालबालिकालाई नेपालको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य र अनुपम संस्कृतिबारे जानकारी प्राप्त गर्ने अमूल्य अवसर प्रदान गरेको धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक विशिष्टता तथा नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले प्रतियोगितामा पहिलोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला तथा बाल संस्कृतिसँग सम्बन्धित विविध विषयवस्तुको प्रदर्शनी गरिएको थियो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?