Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कला-साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव


झापा। धार्मिक तथा पर्यटकीय नगरको रूपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रूपमा आफूलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला-साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो।

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ। उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए । त्यस्तै, वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गरेका थिए । उनले कनकाईले साहित्य र कलाको महत्त्व बुझेर महोत्सव आयोजना गरेकोमा खुसी प्रकट गरे।

सो समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो भने प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले आज आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए। रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुंगामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताएका छन्।

उक्त महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिदै सो कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको बताएका छन् । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन्।

त्यस्तै, प्रसिद्ध कलाकार मनोज गजुरेलजस्ता साङ्गीतिक हस्तीदेखि गायिका रचना रिमाललगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो भने नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भव्य र सफल बनेकोलाई आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताएका छन्।

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो । उक्त महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो।

चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो।

विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए। आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए। कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?