Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस


बेदकोट,कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

त्यसैगरी, बेलडाँडी-५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ भने खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताएकी छन् ।

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् भने यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारकोे जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

‘काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ’, नन्दाले भनिन्, ‘यसले केही हदसम्म जनावर भाग्छन् ।’

त्यस्तै, राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ भने डेढ बिघा जमिनमा उखु खेती गर्दै आएकी उनी जनावरबाट जोगाउन सके वार्षिक रु चार लाखसम्मको कारोबार हुने गरेको बताउँछिन् । उक्त निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताएका छन् । ‘यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ, तर के गर्ने जोगाउन सकिँदैन’, उनले भने, ‘रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।’

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । ‘राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो’, बेलडाँडी–५ कै श्यामलाल रानाले भने, ‘तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।’

उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका छन् भने राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?