Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

काठमाडौं महानगरपालिकाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध


काठमाडौं। काठमाडौं महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् ।

उक्त महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार ४१ अस्पताल आबद्ध भएका हुन् । आवद्ध ४१ अस्पतालमा कूल तीन हजार दुई सय ३९ शय्या छन् भने जसको १० प्रतिशत अर्थात् तीन सय २३ वटा शय्या लक्षित वर्गका लागि रहेको महानगर स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिएकी छन् ।

त्यसैगरी, स्वस्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएको महानगरको भनाइ रहेको छ भने आर्थिक रुपमा विपन्न र कोही नभएका व्यक्ति यस सेवाको लक्षित समूह हुन् । लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहकोे संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ ।

उक्त समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्ट्रार, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् भने सो सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम उपलब्ध हुनेछ ।

कसरी लिने निःशुल्क सेवा ?

गरिबी परिचयपत्र भएका बिरामीले सोझै अस्पताल गई उपचार सेवा लिन सक्नेछन् । यदि गरिबी परिचयपत्र छैन भने बिरामीले कार्यविधिको अनुसूची–२ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची–५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्छ भने सो वडा कार्यालयबाट दिइने अनुसूची–४ बमोजिमको सर्जमिन र अनुसूची–३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्ने छ ।

त्यस्तै, बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने, बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने तथा अन्योल भएमा सम्बन्धित वडाको सिफारिसपत्र लिई कामपा स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइ वा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सिधै सम्पर्क गर्न सकिनेछ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?