Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै


म्याग्दी। बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

डिजाइन (नक्साङ्कन) मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।

त्यस्तै, अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिए । “विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उनले भने, “विसं २०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो ।”

सो पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताए । नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै, कालीगण्डकी किनारमा प्राकृतिकरुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ भने पाउद्धार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो । भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार चार सय ८६ मा ठेक्का सम्झौता गरेको थियो ।

उक्त कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले निर्माण व्यवसायीले दुवैतर्फ जिप रहने ठाउँ निर्माणसँगै ‘स्टिल डेग’ लगायतका सामग्री जुटाउने कामलाई तीव्रता दिएको बताएका छन्। त्यस्तै, कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा रु १२/१२ लाख बजेट विनियोजन भएको थियो ।

त्यस्तै, गत जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो भने निर्माणाधीन पुलको पाउद्धारतर्फको जिप नजिकै ३३/११ केभी क्षमताको प्रसारण लाइन पर्ने भएकाले चार वटा पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर सर्वेक्षण गरी बजेट स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको पूर्वाधार विकास कार्यालयका सबइञ्जिनियर रविन चोखालले बताए ।

सो विभागीय मन्त्रालयले बजेट स्वीकृत गरेपछि विद्युत् प्राधिकरणमार्फत पोल स्थानान्तरण गरिने उनले बताए । त्यस्तै, म्याग्दी क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने–आउने पर्यटकको बसाई लम्ब्याउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?