Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

भक्तपुर अस्पतालका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली


१ चैत, भक्तपुर । यहाँका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ ।

अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत बिरामीलाई ठगी गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘अनुगमनका क्रममा यहाँका निजी अस्पतालले सञ्चालन गरेका फार्मेसीले नियम विपरित चर्को मूल्यमा बिक्री गरेको र नार्कोटेकजस्ता आषधि पनि सँगै राखेर बिक्री गरेको पाइएको छ ।’

अनुगमन समितिले मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियम विपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो ।

अनुगमनका क्रममा भक्तपुर इन्टरनेसल अस्पतालको फार्मेसीले नियमभित्र रहेर औषधि बिक्री गरेको तर मध्यपुर, नागरिक कम्युनिटी र समिट अस्पतालका फार्मेसीले भने चर्को मूल्य लिएर औषधि तथा औषधिजन्य पदार्थ बिक्री गरेको पाइएको उनले जानकारी दिए ।

यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए । उनका अनुसार सर्जिकल सामग्रीमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री गरेको पाइएको छ ।

नागरिक अस्पताल फार्मेसीले लागूऔषधका रुपमा प्रयोग हुने नार्कोटेक लगायतका औषधि पनि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको बताइएको छ । नियमानुसार यस्ता औषधि छुट्टै राख्नुपर्ने र चिकित्सकको अनुमति बिना बिक्री गर्न नपाइने भए पनि एकै ठाउँमा राखेर जथाभावी बिक्री गरेको पाइएको उनले बताए ।

अनुगमनमा समिट अस्पतालले म्याद नाघेका औषधि पनि सँगै बिक्री गर्ने गरेको पाइएको छ । यस अस्पतालले औषधि राखेको फ्रिजमा तरकारीसमेत राखेको बताइएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले औषधिमा तरकारी मिसाएर राख्नु गम्भीर लापरबाही भएको अनुगमनकै क्रममा बताएको छ ।

अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ शर्माले अरनिको राजमार्ग नजिक सञ्चालनमा रहेका अस्पतालका फार्मेसीमा बढी मूल्य लिएर बिरामीलाई औषधि बिक्री गरेको र प्राविधिक कमजोरी गरेको देखिएकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको बताए । नियम विपरीत सञ्चालन भएका अस्पतालका फार्मेसीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए ।

फार्मेसी सञ्चालकले भने अहिलेसम्म अनुगमन नगरेको र फार्मेसीको नाफा अस्पतालका सञ्चालक समितिका सदस्यलाई समेत वितरण गर्नुपर्ने भएकाले महङ्गो लिनु परेको बताएका छन् ।

भक्तपुरमा अनुगमन हुन बाँकी रहेका निजी अस्पताल अभ्युदय अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति बाल अस्पतालका साथै यहाँका क्लिनिक तथा औषधि पसलले औषधि र सर्जिकल सामग्रीमा बिरामी ठगेर मनोमानी रुपमा रकम असुल्ने गरेको बिरामीका आफन्तहरुले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?