Trending
>>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण: फेरियो स्थानीयको दैनिकी


ढोरपाटन,बागलुङ। निसीखोला गाउँपालिका(९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्थे । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो, तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ ।

उक्त पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उनी दिनमा १०/१२ पटक खोला वारपार गर्छन् । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उनमा अझै छ, तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । सो खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ ।

उक्त पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनी बताउछन्। पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताए । उनले विगतको सम्झना गर्दै भने, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।’

विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ । सो गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् भने गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ । त्यस्तै, निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गर्थ्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए ।

अहिले जोगिथुम्पाका-बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताएका छन् । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उनी बताउछन् ।

करिब चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ रहेको छ भने सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उनले बताएका छन् ।

उक्त पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म निर्माण भएका सात वटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताए । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताएका छन् । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए । निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उनको भनाइ रहेको छ ।

 


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?