Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा


काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आ.वको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । यो सँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।

त्यस्तै, कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ करोड पुगेको छ । राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ ।

गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब ५७ करोडले घाटामा थियो ।

सो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई रु तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ५३ करोडले धनात्मक रहेको छ ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?