Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित


गण्डकी। गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ ।

त्यस्तै, गत भदौ १५ गते प्रदेश सभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिएका छन् ।

‘किसान, बीउबिजन व्यापारी, कृषि क्षेत्रका विज्ञदेखि सरोकार भएका सबै पक्षलाई समितिको बैठकमा बोलाएर विधेयकमाथि सघन हिसाबले छलफल गर्‍यो’, उनले भने, ‘विज्ञलगायतबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित विधेयक समितिबाट पारित भएको छ ।’ सभापति देवकोटाले अबको हिउँदे अधिवेशनमा उक्त विधेयक प्रदेशसभामा पेश हुने बताए ।

उक्त प्रदेशसभामा दफाबार छलफलपछि उक्त विधेयक पारित हुने र ऐनको रूपमा कार्यान्वयनमा आउने उनको भनाइ रहेको छ । समितिमा भएको विधेयकमाथिको छलफलका क्रममा बाली विज्ञ, बीउ उत्पादक किसान, व्यवसायीलगायतलाई सहभागी गराइएको सभापति देवकोटाले बताएका छन् ।

प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थ विज्ञ भानुभक्त भट्टराईले उक्त विधेयकमा गरिएका व्यवस्थाले गण्डकी प्रदेशभित्रका बीउबिजन उत्पादन गर्ने किसान र व्यापारीलाई सहजता थपिने बताए । “बीउबिजनको प्रमाणीकरणका लागि सङ्घ सरकारसँग भर पर्नुपर्ने अवस्था थियो, अब प्रदेशमै बीउबिजन गुण नियन्त्रण केन्द्र’, उनले भने ।

त्यस्तै, प्राकृतिक विपद्, रोक किरा आदि कारणले किसानले उत्पादन गरेको बीउबिजन नष्ट भएमा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था विधेयमा रहेको उनले बताए। “यदि बिक्रेताले गुणस्तरहीन या गलत बीउबिजन दिएका कारण किसानले कुनै आर्थिक क्षति व्यहोर्नुपरेमा सम्बन्धित व्यापारीले किसानलाई क्षतिपूर्ति दिनुपर्ने प्रावधान विधेयकमा छ’, वरिष्ठ कृषि अर्थ विज्ञ भट्टराईले भने ।

किसानलाई उन्नत, सुलभ र गुणस्तरयुक्त बीउबिजन उपलब्ध गराउने र प्रदेशलाई बीउ बिजनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विधेयकमा नीतिगत व्यवस्था गरिएको उनको भनाइ रहेको छ । विधेयक निर्माण गर्दा रैथाने बालीको पनि संरक्षण र प्रवर्द्धनमा जोड दिइएको वरिष्ठ कृषि अर्थ विज्ञ भट्टराईले बताए भने बीउबिजनको उत्पादन, उपलब्धता र आपूर्तिको सुनिश्चिताका लागि विधेयकमा कानुनी प्रबन्ध गरिएको उनको भनाइ रहेको छ ।

गुणस्तरीय बीउबिजनको उपलब्धतामार्फत बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानको सुविधा तथा आर्थिक हितलाई ध्यानमा राखेर विधेयक ल्याइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ भने विधेयकमा बीउबिजनसम्बन्धी नीति निर्माण र कार्यान्वयन गर्न, सो सम्बन्धमा प्रदेश सरकारलाई आवश्यक परामर्श दिन र सङ्घीय ऐनले तोकेका कार्य गर्न प्रदेश बीउबिजन समिति गठन हुने उल्लेख छ ।

सो विधेयकले कुनै व्यक्ति या संस्थाले बीउबिजनको कारोबार गर्न चाहेमा, मूल वा स्रोत बीउ, वर्णशङ्कर बीउलगायत उत्पादन गर्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ भने उक्त मन्त्रालयले जीवनाशक विषादीसम्बन्धी विधेयकको पनि मस्यौदा तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको वरिष्ठ कृषि अर्थ विज्ञ भट्टराईले बताएका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?