Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता


भरतपुर।  चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि  बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बिमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा. सुनिल ज्ञवालीले जानकारी दिए।  उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले रु एक हजार पाँच सय उपलब्ध गराउनेछ भने पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलो पटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
सो पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागू गरेको छ भने छ महिनाको अवधिमा तीन सय ५० पशुलाई कृत्रिम गर्भाधान गराइएको तर यो सङ्ख्या न्यून रहेकाले बढाउनका लागि कार्यक्रम सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताए। त्यस्तै, सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेस गर्नुपर्नेछ ।
 विसं २०८० वैशाखदेखि फागुन ८ गतेसम्म सुत्केरी भएका पशुमा मात्र यो नियम लागू हुने पालिकाले जनाएको छ । त्यस्तै गाई, भैँसीको बिमा गर्दा जम्मा बिमाङ्कको ८० प्रतिशत सङ्घीय सरकार, १० प्रतिशत गाउँपालिका र १० प्रतिशत कृषक स्वयंले व्यहोर्न पर्नेछ । बिमा गर्दा व्यक्तिगत गोठालो दुर्घटना बिमा पनि गरिने प्रमुख ज्ञवालीले बताएका छन्। उक्त गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नं ३, ४, ५ र ७ मा गाई भैँसी पालेर दूध बिक्री गर्ने किसान धेरै रहेको बताए ।
ती वडाका किसानले गाई भैँसी पालेर दूध बिक्री गर्ने गरेका छन् भने गाउँपालिकाले किसानका गाई भँैसीका गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताए ।  त्यस्तै, बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने पालिकाको तयारी रहेको उनले जानकारी दिए । पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको उनले बताए ।उक्त गाउँपालिकामा तीन हजार भन्दाबढी कृषि र पशुपालनका फार्म दर्ता भएका छन् ।

प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?