Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण


दमौली। तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलब्ध गराएको छ । व्यास(१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी, करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन ट्राफिक प्रहरीलाई उपलब्ध गराउने निर्णय भएको हो । व्यास –४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा आफूले प्रस्ताव गरेको जानकारी दिएका छन् ।

उनले भने, “अन्य पालिकाले जग्गा र भवन दिन्छौँ भनेर प्रस्ताव गरिरहेका थिए, सदरमुकाममा भएको कार्यालय अन्यत्र लैजानु ठिक हुँदैनथ्यो । करङकाठमा प्रयोगविहीन भवनलाई ट्राफिक प्रहरीको कार्यालय बनाउन सकिन्छ भनेर नगरप्रमुखसमक्ष प्रस्ताव लगेको थिएँ ।”

सो भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ । ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ भने सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

उनले भने, “उक्त भवनको काम बीचमा छाडेर अलपत्र परेको रहेछ । हामीले नगरपालिकालाई अनुरोध गरेपछि नगरपालिकाले भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ । अहिले भवनको सरसफाइको काम भइरहेको छ । बाँकी सबै काम नगरपालिकाले नै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।”

त्यस्तै, हाल व्यास–४ स्थित व्यक्तिका घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । हाल सातवटा कोठा भाडामा लिइएको छ भने पुरानो घर भएकाले साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपरेको प्रहरी नायब निरीक्षक पौडेलको भनाइ छ । उनले भने, “नयाँ भवनमा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाहमा पनि सहजता हुन्छ ।”

ट्राफिक प्रहरी कार्यालय तनहुँमा १५ जनाको दरबन्दी रहेकामा ३७ कार्यरत छन् । उक्त कार्यालय मातहत जिल्लाभर १२ अस्थायी ट्राफिक प्रहरी पोष्ट छन् । पौडेलका अनुसार बेलचौतारा, आँबुखैरेनी, कोत्रे, भिमाद, थर्पु, कलेस्ती, बन्दीपुर, भन्सार, पुर्कोट, पुलजीप र देवघाटमा अस्थायी पोष्टबाट सेवा प्रवाह भइरहेको छ ।

उक्त कार्यालयले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतनालगायतका काम गर्दै आएको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?