Trending
>>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी >>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना
Logo
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा


भोजपुर। भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए । वर्षात्को समयमा बाहेक हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ भने दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताएका छन् ।

त्यस्तै, जलयात्राबाट चतरासम्मको करिब १९ किमी दूरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिए । “स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ”, उनले भने, “सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन् । वर्षात्को समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कनसक्ने वातावरण बनेको छ ।”

स्थानीयले १९ किमी यात्रा गरेको रू छ सय भाडा तिर्दै आएका छन् भने अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताए । भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब दुई किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेकोे उनको भनाइ रहेको थियो ।

त्यस्तै, जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । उक्त जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उहानको भनाइ रहेको थियो ।

अध्यक्ष राईले भने, “दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।” उनका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको छ ।

यहाँका नदीमा पुल बनेपछि हतुवागढीबाट धरान, इटहरी, विराटनगरलगायत तराईका ठूला सहर करिब ६०÷६५ किमीको दूरीमा मात्र रहने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताए । उनका अनुसार हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजङ्घालगायत हिमाल र तराईका फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको छ ।

त्यस्तै, गर्मीयाममा तराईबाट गर्मी छल्न, चिसो हावापानीमा रमाउन, मनमोहक दृष्यको दृष्यावलोकन गर्न तथा नयाँ पर्यटकीयस्थलको भ्रमण गर्न चाहनेका लागि यो स्थान महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष राईले बताए । उनका अनुसार गाउँपालिकाले गौरवको आयोजनाका रुपमा घोडेटार बजार–गढी–सङ्खामचुली जोर आहाल–दिमालुङ्ग पार्क जोड्ने पैदलमार्गको निर्माण भइरहेको छ ।

योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान बिन्दुका रुपमा विकास गरी समुद्र सतहबाट एक सय ५३ मिटर उचाइ मात्र रहेको भोजपुरको सबैभन्दा होचो भूभाग माइबेनीलाई समेट्दै गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?