Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप: एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी


मुगु। हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका-६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताएका छन् ।

उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो ।‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पुर्‍याउनै पाएनौँ ।’ कुसुम उनकी माइली बुहारी हुन् ।

त्यस्तै, मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताए । उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् । वडा नं. ६ र ७ मा प्राय सबै घरैपिच्छे भाइरल ज्वरोका बिरामी छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायतका दर्जन बढी बस्तीमा भाइरल ज्वरो फैलिएको छ । बिरामीहरूमा ज्वरो आउने, रुघा खोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।

‘सुरुमा हामीलाई पनि योबारे जानकारी आएन । सामान्य ज्वरो र रुघाखोकी त हो भनेर प्राय सबै घरमै बसेछन् । हामीले ७ गतेमात्र पालिकामा विशेष गरी वडा नं। ६ र ७ मा धेरै जना एउटै प्रकृतिका लक्षण भएका बिरामी बढे भन्ने खबर पायौं,’ स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘अहिले गाउँभरि बिरामी परेका छन् । हामीले पनि उपचारलाई प्राथमिकतामा राखेर काम थालेका छौँ ।’

उक्त पालिकाले जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर डाक्टरसहितको टोलीलाई बोलाएर बिरामीको परीक्षण गराएको शाखा प्रमुख धामीले बताए । ‘अहिले यही समस्या हो भनेर बोल्ने स्थिति छैन । परीक्षण भइरहेको छ । रिपोर्ट आउन बाँकी छ,’ टोलीमा संलग्न जिल्ला अस्पतालका डाक्टर कमल ढुंगानाले भने ।

उनले अघि थपे, ‘हामीले लक्षणको आधारमा कोभिड-१९, मलेरिया, औँलो, स्क्रब टाइफसलगायत समेत चेक गर्‍यौँ। बिरामीमा त्योमध्ये कुनै पनि भाइरस देखिएन । केही बिरामीको रगत र स्वाब परीक्षणको लागि पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ । तर, बिरामीका लक्षण हेर्दा मौसमी भाइरल हुन सक्छ ।’

मंगलबार मात्रै पुरुमुरु र जिमा गाउँमा ११८ जना बिरामीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ भने उनीहरू मध्येबाट नमुना जाँचका लागि खकार, स्वाब र रगत परीक्षणका लागि नेपालगञ्ज पठाइएको डाक्टर ढुंगानाले बताएका छन् ।

उनका अनुसार अब थप चार जना बिरामीको अवस्था गम्भीर छ भने उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?