काठमाडौँ । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, मचलीमा स्मृति सभा आयोजना गरियो । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।
स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरुले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठूलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।’ सहिदहरुको बलिदानीका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको उहाँको भनाइ थियो ।
बोलेको कसुरमा प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको बलिदानीको सम्मानमा धेरै काम गर्न बाँकी छन् । कार्यक्रममा वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, एक दिन कार्यक्रम आयोजना गरेर नपुग्ने धारणा राख्नुभयो ।
महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममाहरुमा सहभागी हुन निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले आग्रह गर्नुभयो । कार्यक्रम आयोजना गरिएको स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदहरुको योगदान स्मरण गर्दै, उहाँहरुको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा वि. सं. २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस बर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।
महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको शालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।
यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । संघीय मन्त्री तथा प्रदेश मन्त्रीहरु, संसदसहित उच्च पदस्थ पदाधिकारीहरु प्रभातफेरीमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सिधै सहिद पार्कमा जानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।
प्रकाशित मिति: १० माघ २०८०, बुधबार