Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बागलुङमा आधारभूत अस्पताल निर्माण: अझै जग्गाको खोजी


ढोरपाटन। सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।

अहिले केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कहीँ पालिकामा अस्पताल निर्माणाधीन छन् भने कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरी रहेका छन् ।

गलकोटले हरिचौर स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा सुरु गरेको हो । उक्त गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ शय्याको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए भने नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ रहेको छ ।

उनले भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको जानकारी दिए । हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उनको भनाइ रहेको छ ।

उक्त अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए । जग्गा खरिदका लागि अहिले आर्थिक सङ्कलन भइरहेको उनले जानकारी दिए ।प्रवक्ता भण्डारीले भने, ‘पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल सञ्चालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्यचौकीको भवनबाट सेवा दिइ राखेका छौँ, अब छिट्टै जग्गा व्यवस्थापन हुनेछ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौं र बागलुङ जान परेको छैन ।’

त्यस्तै, तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ भने यस पालिकामा पाँच शय्याको आधारभूत अस्पताल बन्ने छ । जसका लागि सङ्घीय सरकारले रु ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पतालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए ।

उक्त गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उनको भनाइ रहेको छ । ‘स्वास्थ्य मन्त्रालयले पठाएको नमुना दरबन्दीअनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरी स्वास्थ्य चौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ’, संयोजक छन्त्यालले भने, ‘अस्पताल बनाउनका लागि जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।’

त्यस्तै, बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । पन्ध्र शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिएका छन् ।

उक्त अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ भने सो अस्पतालमा एक जना एमबिजिपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताए ।

त्यस्तै, ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधिमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ भने विसं २०८२ असार २३ सम्ममा सकी सक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताए ।

उक्त अस्पतालको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा उनको भनाइ छ भने काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उनले बताए । तीन महिना अगाडि रु छ करोड ६१ लाखको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ ।

त्यस्तै, निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० शय्याको पालिकास्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन भने गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घीय सरकारले बजेट पठाए काम सुरु हुने जनाइएको छ ।

बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए । उक्त केन्द्र सरकारले विनियोजन गरेको रु २४ करोड विनियोजन गरेको बजेटले काम भएको उनको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउँछन् भने हाल सात वटा स्वास्थ्यचौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उनले बताए ।

उक्त जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडि नै पालिकास्तरीय पाँच शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । सो जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाइए कामलाई अगाडि बढाउने उनको भनाइ छ ।

त्यस्तै, दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्डअनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए । जग्गालाई स्वीकृत गर्नका लागि मन्त्रालयमा पठाइएको उनको भनाइ रहेको छ ।

त्यस्तै, ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका नागरिकले पर्यटकले समस्या खेप्नुपरेको बताए । ढोरपाटन निकै चिसो क्षेत्र रहेको भन्दै बाहिरबाट आउने पर्यटक बिरामी पर्दा नजिकमा उपचार गर्न नपाएको उनको भनाइ छ । पोहोर सालदेखि अस्पताल निर्माण हुन थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको उनले बताए ।

 


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?