Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत


म्याग्दी। घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ ।

त्यस्तै, तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम लागू गरेको हो । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले कार्यक्रममार्फत नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेलाई पोषिलो खानेकुरा उपहार दिने व्यवस्था मिलाएको बताए।

“गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न चालु आवमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि रु सात लाख बजेट विनियोजन भएको छ”, उनले भने, “घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन उपहारसहित सचेतनामूलक कार्यक्रम गरेका हौँ ।”

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरेका छन् भने सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

यसअघिका दुई वर्षमा ‘गर्भवती र सुत्केरीसँग उपाध्यक्ष’ शीर्षकमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी बनेपछि यसपालि शीर्षक परिमार्जन गरेर निरन्तता दिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् । उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने दर २७ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको छ । संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत छ । गत आव २०७९/०८० मा सुत्केरी भएका १३९ जनामध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । चार वटा बच्चा मृत जन्मिएका थिए भने चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ११ जनाले संस्थागत प्रसूति सेवा लिएका छन् ।

त्यस्तै, नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ भने गर्भवती र सुत्केरीलाई उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

आ.व २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । आठ वडा रहेको अन्नपूर्णको एक दोवा, तीन दाना र चार नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ ।

गर्भवती र सुत्केरीलाई उपहार दिने कार्यक्रमका लागि आव २०७८/०७९ र २०७९/०८० मा रु छ/छ लाख बिनियोजन भएको थियो ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?