Trending
>>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन् >>   भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू >>   विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत >>   समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै >>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार


२७ फागुन,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

 

यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरुपमा सुन्दर भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ ।

प्रवद्र्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा–पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।

एक हजार एक सय रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैँचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवद्र्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन् ।

आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोसीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जङ्गल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू १५ लाख विनियोजन गरेको थियो । यस वर्ष रू १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’

मैस्याङटारको चौतर्फी विकासका लागि रु चार करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ । डिपिआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायतका संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?