Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा – राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो–‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’
शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पार्नुभयो ।

खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उहाँले भन्नुभयो–‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’

राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजतासाथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रको लागि आजको आवश्यकता हो ।’

उहाँले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीबीच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफुले विश्वास लिएको बताउँनुभयो । उहाँले भन्नुभयो–‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ । यस्ता प्रतियोगिता शिक्षणसिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु ।’


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?