Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड


दुबई। साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।

त्यसैगरी, आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ भने तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिणपश्चिमी जाजानमा मृत्युदण्ड दिइएको हो ।

खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन् भने सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो ।

सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतङ्कवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन् भने सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो ।

त्यस्तै, एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ । टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो ।

अधिकारीहरूका अनुसार शरिया कानून, कुरानको शिक्षामा आधारित इस्लामिक कानून संहिता र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ का लागि मृत्युदण्ड आवश्यक छ । वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक मुलुक साउदी अरबलाई व्यवसाय र पर्यटन केन्द्रमा रूपान्तरण गर्न चाहनुहुन्छ ।

यद्यपि कार्यकर्ताहरूका अनुसार मृत्युदण्ड जारी राख्दा प्रिन्स मोहम्मदको भिजन २०३० सुधार एजेन्डाको केन्द्रमा रहेको अझ खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाउँछ ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?