Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भूकम्पपीडितका ११ हजार घर निर्माण


काठमाडौं। जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।

अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोख्रेलले जानकारी दिएका छन्। उनका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् ।

उनले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि रू दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए । त्यसमध्ये रू एक अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ भने स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने रू ५८ करोड ७८ लाख रकम पठाइसकिएको उनले बताएका छन् ।

अहिलेसम्म जाजरकोटमा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ गरी कुल ६७ हजार सात सय ८३ लाभग्राही कायम भएका छन् । अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए ।

उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ । त्यस्तै, लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि रू चार अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ । त्यसमध्ये रू दुई अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्‍याएको थियो ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?