Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

हात्ती धपाउन रातभर जाग्राम


५ ,पुष ,बेदकोट (कञ्चनपुर) । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।

हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ ।

निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भनिन्, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”

होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उनले बताईन् । एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उनको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश–बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उनले भनिन्, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”

जङ्गली हात्ती घरनजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय ठगुराम डगौँराले एक सातादेखि सुत्न पाउनुभएको छैन । हात्ती घरनजिकै आउन थालेपछि त्रसित भएर बस्नुपरेको उनको भनाइ छ । “छिमेकमा हात्तीले सेफ्टीट्याङ्की भत्कायो । कतिबेला घरभित्रै पस्ने खतरा छ । डराइडराइ बस्नुपरेको छ”, उनले भने, “खेतको गहुँ पूरै कुल्चिएको छ ।”

डगौँराले यहाँ दुई बिघा जमिनमा गहुँखेती गरेका छन् । राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय खड्कसिंह विष्टले बताए । “साइरन माग गरेको डेढ वर्ष बितिसक्यो । अहिलेसम्म पाएका छैनौँ । उज्यालोको व्यवस्था पनि छैन”, उनले भने, “छवटा चिम मागका थियौँ । बजेट अभाव भएको भन्दै नगरपालिकाले दिएन ।”

‘साइरन’ भए हात्ती धपाउन सहज हुने स्थानीयको विश्वास छ । निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का उज्यालोका लागि तत्काल बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाउछन् ।

“निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरको समस्या छ । धेरै ठाउँमा उज्यालोका हामीले बल्ब उपलब्ध गराएका छौँ”, उनले भने, “छुटेका ठाउँमा उज्यालोका लागि तत्कालै बल्ब वितरण गर्छौँ ।”


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?