Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार


गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए । एक सय ४४ सिँढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुङ्गाको प्रयोग गरिएको खत्रीले जानकारी दिनुभयो । “पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौँ”, उहाँले भन्नुभयो, “बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।” कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् ।

पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् । चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । रु ५० लाखको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारणबीचमै रोकिएर रु १२ लाख फिर्ता भएपछि पदमार्ग अलपत्र थियो । प्रयोग भएको रु ३८ लाखमध्येबाट कोट पूजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ ।

वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताउनुभयो । कोटघरको वरपर पर्खाल तयार गरिएको छ भने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रिले बताउनुभयो । “मल्लकालीन इतिहास बोकेको कोटघरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, दसैँ र चैतेदसैँमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो”, उहाँले भन्नुभयो, “पौराणिक महत्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।” “कोटमा बलि पूजाका लागि राँगा, बोका लैजानसमेत कठिन भिरालो जमिन थियो, अहिले सजिलो भएको छ”, स्थानीय तुलसी परियारले भन्नुभयो, “अब कोटघरको प्रचारको खाँचो छ ।”

तत्कालीन बाइसे चौबिसे राजाका पाला गलकोट राज्यको प्रारम्भ यही कोटबाट भएको इतिहास छ । लामो समय यही कोटमा बसेर राज्य गरेका राजा महाराजापछि गलकोट दरबारमा सरेका थिए । शक्तिपीठको रुपमा गलकोट, ताराखोला क्षेत्रका सर्वसाधारणले यहाँ बर्सेनि पूजाआजा गर्दै आएका छन् ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?