Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित


विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल भई सुशासन तथा योजना समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले सदनमा आइतबार पेस गरेका हुन् ।

प्रस्तावित विधेयकको कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारी, नारायण बुर्जा मगर, कमला दर्नाल, गोम्बु शेर्पा, रामदेव यादव, भक्तिप्रसाद सिटौला र प्रदीपकुमार सुनुवारले उपादेयता, सान्दर्भिकता, सकारात्मक तथा नकारात्मक पक्षमा बोलेका थिए ।

विधेयकको विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री राईले मुलुकमा प्रशासनिक सङ्घीयतालाई सुदृढ एवं बलियो बनाउन यो विधेयक आवश्यक छ भने । उनले विधेयकमा कुनै कमी तथा त्रुटी भएमा अविलम्ब सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि पश्चिम नेपालबाट थालेको समृद्धिको सङ्कल्प यात्राको सफलताको शुभकामना दिए । उनले यो यात्राले एकता, धार्मिक, सांस्कृतिक सद्भाव कायम राखी मुलुकमा विकास गर्न मद्दत पुग्ने बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्न सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य खिनु लङ्वा लिम्बूले किसानले उत्पादन गरेको दूध र दुग्धजन्य पदार्थको बजार र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

सदस्य गीतादेवी रेग्मीले उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित एक ग्यारेजमा भएको आगलागीको छानबिन गर्नुपर्ने माग गरिन् । उनले यस किसिमको हानी– नोक्सानीबाट जोगाउन त्रियुगा नगरपालिकामा वारुणयन्त्र राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरिन् ।

सदस्य गीत तिमल्सेनाले प्रदेशमा रिक्त रहेका पदमा सरकारले अविलम्ब पदपूर्ति गर्नुपर्ने माग गर्दै कोशी प्रदेशसभाको सभामुख छनौट गर्ने प्रक्रिया पनि अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराईन् । सदस्य तिलचन पाठकले विराटनगरको एक अस्पतालमा मृत घोषणा गरेको व्यक्ति जीवित नै रहेकाले यस विषयमा सरकारले छानबिन गर्नुपर्ने माग गरे ।

अर्की सदस्य ललिताकुमारी चौधरीले सरकारले सामुदायिक विद्यालयमा व्यावसायिक प्रतियोगिता गराई विद्यार्थीहरुलाई स्वरोजगार हुने विषय लागू गर्नुपर्ने बताईन् । सदस्य सपना दर्जीले विराटनगरको एक अस्पतालमा सुनसरी इनरुवा नगरपालिका–३ निवासी प्रताप सदालाई मृत घोषणा गरेको अस्पताललाई कारबाही गर्नुपर्नेमा जोड दिईन् ।

प्रदेशसभाको अर्को बैठक आगामी पुस ४ गते अपराह्न १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिईन् । अपराह्न १ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सञ्चालन भएपछि बीचमा ३० मिनेटका लागि स्थगन भएको बैठक ३ः१० मा पुनः प्रारम्भ भएको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?