Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेपाल एयरलाइन्सको लापरवाही, प्रधानमन्त्री प्रचण्डलाई लिएर उड्दा ३१ यात्रु छुटे


काठमाडौं। नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् ।

प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टा अघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो, तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भएका थिए । त्यस्तै, जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ । यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका अधिवक्ता प्रज्वल विक्रम राणाले नेपाल एयरलाइन्सले लापरवाही गरेको बताएका छन् । उडान समय अगाडि सारेको पूर्वजानकारी एयरलाइन्सले नदिएको उनको भनाइ रहेको छ। उनले भने, ‘मैले राति साढे ११ बजे काठमाडौंबाट दुबई जानका लागि टिकट काटेको थिएँ । बुधबार बेलुकी साढे ८ बजे नै एयरपोर्ट पुगें तर फ्लाइट समय भइसकेको भन्दै भित्र छिर्न दिएन । फ्लाइट सरेको जानकारी समेत नगराएर नेपाल एयरलाइन्सले लापरवाही गर्यो ।’ आफूजस्तै ३१ जना यात्रु फ्लाइट समय सरेको पूर्वजानकारी नपाउँदा एयरपोर्टबाट फर्किएको उनले बताए । ‘मलाई मात्र होइन, अरु यात्रुहरुलाई पनि फ्लाइट सरेको जानकारी रहनेछ । हामी सबैलाई होटलमा राखिएको छ,’ उनले भने ।

नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन आफूहरुलाई दिएको राणाले बताए । त्यस्तै, नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् । उनीहरुले समयमा आउन नसकेको पूर्वजानकारी गराउनुपर्ने भन्दै नेपाल एयरलाइन्सबाट पत्र मागेका थिए । त्यसैले यात्रुहरुको अनुरोधको आधारमा नेपाल एयरलाइन्सले भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ ।

 


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?